लेखकः टिपी खनाल

संयोजनः प्रमोद देवकोटा
महासचिव, नेपाल सियाटल सोसाईटी
वाशिंगटन राज्यको सियाटल संयुक्त राज्य अमेरिकाको उत्तर पश्चिमि प्रशान्त महासागरको तटमा अवस्थित एउटा प्रसिद्ध ब्यापारिक शहर हो। हो शहर माइक्रोसफ्ट (Microsoft), एमाजन (Amazon), स्टारबक्स कफी (Starbucks Coffee), टि-मोबाइल (T-mobile), कस्टको थोक व्यापार (Costco Wholesale) जस्ता प्रसिद्ध कम्पनिहरुको मुख्यालय र बोईङ्ग ( Boeing) जस्ता ठुला कम्पनिहरुको प्रमुख उत्पादन केन्द्र पनि हो। यहाँ नेपालीहरुले १९८०-९० को दशक देखि नै बसोवास गर्न थालेका हुन्। पछिल्लो १०-१५ बर्षमा सुचना प्रविघि जगत र अन्य रोजगारका अवसरको तिव्र वृद्दिका कारण संख्यात्मक हिसाबले पनि नेपालीहरुको बसोबास यस क्षेत्रमा निकै ठुलो संख्यामा बाक्लिदै गएको छ।
बिदेशमा बस्ने नेपालीहरुमा आफ्नो जन्मभूमिप्रतिको अभाव खट्किनु स्वाभाविकै हो। त्यसमा पनि आफ्नो भाषा, संस्कृति, चाडपर्व, ईत्यादी जस्ता कुराहरुको कमि महसुस भैरहन्छ। नेपालमा दशैँ, तिहार, शिवरात्रि, तिज, ल्होसार ईत्यादी जस्ता चाडपर्वहरु मनाउदा बिदेशमा हुनेहरुलाई ति कुराहरुको अभावले निकै खल्लो महशुस गराउछ। किनकी विदेशमा बसेर मेहनत गर्दा आर्थिक रुपमा बलियो भए पनि भावनात्मक रुपमा भने निकै कमजोर हुने अवस्था रहन्छ।
यिनै कुराहरुलाई आत्मसात गर्दै सियाटलमा रहेका नेपालीहरुको भावनालाई समेट्ने गरी एउटा नेपाली संस्थाको स्थापना गर्ने र सोहिँ संस्थाले समन्वय गरेर यहाँ रहेका नेपालीहरुको भाषा र संस्कृतिको विकास गर्ने उद्धेश्यले सन् १९९९, मार्च १४ का दिन नेपाल सियाटल सोसाईटी (Nepal Seattle Society) नामको एउटा सामाजिक संस्थाको स्थापना गरिएको थियो।अक्टोबर ६, २००० मा वाशिंटन राज्यमा विधिवत रुपमा दर्ता भएको यो संस्था गैर नाफामुलक, गैर राजनैतिक र समावेशी संस्था हो। यस संस्थाले हरेक बर्ष दशैँको उपलक्ष्यमा भेटघाट र सांस्कृतिक कार्यक्रम गर्ने, तिहारको उपलक्ष्यमा देउसी भैलो खेल्ने, समरमा बृहत पिकनिक गर्ने जस्ता कार्यहरु गर्दै नेपाली समुदाय माझ गर्दै आएको छ। त्यसैगरी नेवा समाजको समन्वयमा म्ह: पुजा, तामांग र गुरुङ समाजसँगको समन्वयमा सोनाम र तमु ल्होसार जस्ता चाडहरुको पनि आयोजना हुँदै आएको छ जसमा कुनै एउटा समुदायको मात्रै नभएर सम्पूर्ण नेपालीहरु जम्मा भएर हरेक फरक फरक भाषा र संस्कृतिका चाडहरु मनाउने गरिन्छ।
नेपाली समाजभित्र यति राम्रो सामाजिक र संस्कृतिक रमझम हुँदाहुँदै पनि एउटा निकै महत्वपूर्ण अर्को बिषयको भने टड्कारो रुपमा कमि महशुस हुन थाल्यो। र त्यो थियो, नेपालवाट सानै उमेरमा आफ्ना अभिवावकसँग यहाँ आएका बच्चाहरु र यहिँ जन्मेका बच्चाहरुलाई नेपाली भाषा, संस्कार र संस्कृति सिकाउनु पर्ने। यस कुरालाई गहन रुपमा नलिँदा हामीपछिको पुस्ताले आफ्नोपन अर्थात नेपालीपनलाई पूर्णत: बिर्सिने कुरालाई मनन गर्दै नेपाली भाषा र संस्कृतिको जगेर्ना गर्ने उद्धेश्यले नेपाल सियाटल सोसाईटीकै पहलमा सन् २०१० देखि “सियाटल नेपाली स्कुल” नामको नेपाली भाषी स्कुलको शुरुवात गरियो।
२०१० मा शुरु भएको उक्त स्कुल सियाटलको उत्तरी क्षेत्रमा अवस्थित थियो किनकी तुलनात्मक रुपमा त्यसबेला नेपालीहरुको बसोबास सियाटलको दक्षिणमा भन्दा उत्तरमा अलिक बढी थियो। तर बिस्तारै बिस्तारै सियाटलको दक्षिणी भेगमा पनि नेपालीहरुको बसोबास बढ्दै गएपछि सन् २०१८ देखि सियाटलको दक्षिणी शहर केन्टमा “दक्षिण सियाटल नेपाली स्कुल” को स्थापना गरियो। हाल सियाटलमा दुईवटै नेपाली स्कुलहरु आफ्नै साधन र श्रोतमा राम्रोसँग चलिरहेका छन र निकै फलदायी पनि सावित भएका छन। तर स्कुल संचालनको प्रक्रिया भने अभिभावकहरुको सल्लाह अनुसार फरक फरक छ।

सियाटल नेपाली स्कुल (Seattle Nepali School) बर्षमा ४ महिना (जनवरी-अप्रिल) संचालनमा रहन्छ भने दक्षिणी क्षेत्रको नेपाली स्कुल (South Seattle Nepali School) केन्ट शहरको स्कुलको निमयानुसर अर्थात स्थानीय सरकारी स्कुलको पात्रो (क्यालेन्डर) अनुसार सेप्टेम्बरदेखि जुनसम्म संचालनमा रहन्छ र पठन-पाठनको पाठ्यक्रम पनि आफैले नै तर्जुमा गरेको छ। दुवै स्कुलहरु नेपाल सियाटल सोसाईटी र नेपाली समुदायका स्वयंसेवक र अभिभावकहरुको सहयोगवाट संचालित छन्। सियाटलको उत्तरमा संचालित नेपाली स्कुलले शोरलाइन सामुदायिक कलेजमा भाडामा कक्षाकोठाहरु लिएर हरेक हप्ता ८ वटा कक्षाहरु संचालन गरिरहेको छ भने सियाटलको दक्षिणमा संचालित नेपाली स्कुलले केन्टकै एक सामुदायिक स्कुलमा कक्षा संचालन गर्दै आईरहेको छ।
सन् २०१० मा ११ जना बिद्यार्थी र ४ जना स्वयंसेवकवाट शुरु भएको स्कुल हालसम्म आईपुग्दा उत्तरी क्षेत्रको नेपाली स्कुलमा गतबर्ष अर्थात २०२३ मा १०३ जना बिद्यार्थीहरु र ४५ जना स्वयंसेवकहरु सहभागी थिए भने यस बर्षको लागी १२७ जना बिद्यार्थीहरु, ३१ जना शिक्षक स्वयंसेवकहरु र १६ जना बिद्यार्थी स्वयंसेवकहरु गरि जम्मा ४७ जना स्वयंसेवकहरु सहभागी भए। त्यसैगरी सियाटलको दक्षिणी क्षेत्रको केन्टमा संचालित नेपाली स्कुलमा गतबर्ष अर्थात २०२३ मा ८५ जना बिद्यार्थीहरु र २४ जना स्वयंसेवकहरु सहभागी थिए भने यसबर्ष ८५ जना नै बिद्यार्थीहरु र २० जना शिक्षक स्वयंसेवकहरु र ५ जना बिद्यार्थी स्वयंसेवकहरु गरी जम्मा २५ जना स्वयंसेवकहरु सक्रियरुपमा सहभागी भए।
नेपाली स्कुलमा भर्ना हुनको न्युनतम उमेर ५ बर्ष पुगेको हुनुपर्छ भने अधिकतमको कुनै सिमा तोकिएको छैन। हप्ताको पाँच दिन बच्चाहरुको आफ्नै नियमित स्वाभाविक शैक्षिक पढाई हुने हुँदा नेपाली भाषाको स्कुल हप्तामा एक पटक शनिवार वा आईतवारको दिन मात्रै संचालनमा हुन्छ। जहाँ नेपाली भाषाज्ञानको प्रथम खुट्किला वर्णमाला, बाह्रखरी र अंकहरु पढ्न र लेख्न सिकाईन्छ। अक्षर सिकेपछि शब्द बनाउने र त्यसपछि वाक्य बनाउने जस्ता कुराहरु सिकाईन्छ। त्यसपछि सात बारहरु, बाह्र महिनाहरू, छ ऋतुहरुको बारेमा पढ्न र लेख्न सिकाईन्छ। त्यस्तैगरि नेपालीमा कुन आफन्तहरुलाई बोलाउदा कुन सम्बोधनयुक्त शब्दको प्रयोग गर्ने भनेर लगायत अन्य धेरै नेपालीपनसँग जोडिएका ब्यबहारिक कुराहरु सिकाईन्छ।
त्यसपछि नेपालको भौगोलिक अवस्था, राजनीतिक इतिहास, बिभिन्न कालखण्डहरु, प्रमुख चाडपर्वहरु, १२० भन्दा बढी जातजातीहरु र उनीहरुले प्रयोग गर्ने फरक फरक भाषा र संस्कृतिहरु ईत्यादी सिकाईन्छ। त्यस्तैगरि विश्व सम्पदा सुचिमा परेका नेपालका आठवटा सांस्कृतिक सम्पदाहरु, दुईवटा राष्ट्रिय निकुञ्जहरु लगायत अन्य रास्ट्रिय निकुञ्जहरु र नेपालमा रहेका उच्च हिमालहरुको बारेमा समेत सिकाईन्छ।
यी सवै कुराहरु एक पछि अर्को गर्दै बिस्तारै सिकाईन्छ। र यसरी सिकाईसकेपछि बिद्यार्थीहरुको सिकेको ज्ञानको आधारमा उनीहरुलाई प्रथम, द्वित्तीय, तृतीय र चौथो गरी चारवटा तहमा स्तरोन्नति गरिन्छ। अनि जुन बिद्यार्थीले चौथो तह समेत पास गर्छ, उसले माथि उल्लेखित सबै कुराहरु सिकेको हुन्छ।
पाठ्यक्रममा राखिएका उल्लेखित कुराहरुका अतिरिक्त बिद्यार्थीहरुलाई नेपाली कला र संस्कृति झल्किने किसिमका नृत्य र नाटकहरु पनि सिकाईन्छ। त्यसका लागी पाठ्यपुस्तकको पढाई सकेपछिको समय छुट्याईएको हुन्छ जहाँ दक्ष नृत्य शिक्षक/शिक्षिकाहरुले १-२ घन्टाको समय सिकाउछन। यिनै बच्चाहरुले नै नेपाली नयाँ बर्ष, दशैँ कार्यक्रम, देउसी भैलो कार्यक्रम, नेपाली नयाँबर्ष कार्यक्रम, बार्षिक समर बनभोज कार्यक्रम लगायत अन्य कतिपय महत्वपूर्ण अवसरमा नेपाली संस्कृति झल्कने गायन र नृत्य प्रदर्शन गर्ने गर्दछन जुन निकै प्रभावशाली र धेरैको ध्यानाकर्षण गरिरहेको हुन्छ। नेपाली समुदायका अतिरिक्त दक्षिण एसियाली सांस्कृतिक पर्व (South Asian Cultural Festival) र एसियन सांस्कृतिक उत्सव (Asian Cultural Events) मा समेत यिनै बालबालिकाहरुले नेपाली सांस्कृतिक नृत्यको प्रदर्शन गरिसकेका छन जसलाई धेरै एसियनहरुले समेत मन पराएका थिए। त्यसैगरी हरेक बर्ष केन्टमा रहेको हिन्दु मन्दिरसँगको समन्वयमा दक्षिण सियाटल नेपाली स्कुलले होलीको आयोजना गर्ने गर्दछ, जहाँ नेपाली बच्चाहरुले रंगिन चाडको सदुपयोग गर्दै निकै मज्जाले रमाउने गर्दछन्।
त्यसका साथै बच्चाहरुलाई नेपाली स्कुलको तर्फवाट छुट्टै पिकनिक लाने, हिउँ भएको सजिलो हिमाली भेगतिर हिउँमा हिड्न (Snow Walking) बस्न (Snow Camping) लाने, समरमा पैदलयात्रा (Hiking) मा लाने, चिडियाखाना (Zoo) मा लगेर चराचुरुंगी र जनावरहरु देखाउने/चिनाउने, खेलकुदमा सहभागी गराउने ईत्यादी गर्ने गर्दछ। यसो गर्दा नयाँ पुस्ताका नेपालीहरुले आफु नेपाली भएको र नेपालीपनको मुल्य र मान्यता राम्ररी अनुभूत गर्न सिकेका छन। अभिभावकहरु पनि यसवाट निकै खुशी भएको मज्जाले देख्न सकिन्छ। आफु जहाँ गएपनि आफ्नो जरा के हो भन्ने कुरा कहिल्यै पनि बिर्सिनु हुँदैन भन्ने कुराको यो एउटा राम्रो उदाहरण पनि हो।
नेपाल सियाटल सोसाईटीकै सक्रियतामा अमेरिकामा पहिलोपटक वाशिंटन राज्यभर कक्षा १२ मा विदेशी भाषाको मान्यता नेपाली भाषाले पाएको छ। १२ कक्षामा राज्यभरका जो सुकैले नेपाली भाषा चयन गरि पढ्न र क्रेडिट लिन मिल्दछ। त्यसका अतिरिक्त नेपाली स्कुलको महत्वपूर्ण उपलब्धि के हो भने यसरी पढेर ४ तहको शिक्षा हासिल गरेका नेपाली बच्चाहरुमा बहुभाषिक योग्यताको विकास हुन्छ र कलेजमा भर्ना हुँदा समेत एउटा छुट्टै अन्तराष्ट्रिय भाषाको ज्ञान भएको शिर्षकमा अतिरिक्त ४ क्रेडिट यत्तिकै हासिल गर्न पाउछन, जुन आफैमा एउटा ठुलो उपलब्धि पनि हो।
थप जानकारीका लागि नेपाल सियाटस सोसाईटीलाई सम्पर्क गर्नुहोला। ईमेल – [email protected]